काठमाडौं - प्रहरीले पाँच दिनको अवधिमा झन्डै २७ करोड रुपैयाँ मूल्यबराबरको नौ किलो अवैध लागुऔषध कोकिन बरामद गरेको छ । छोटो अवधिमा बरामद यो अहिलेसम्मकै ठूलो परिमाणको लागुऔषध हो । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो कोकिन बरामद गरेको थियो ।

सोही ठाउँबाट ब्युरोले शनिबार पुनः ६ किलो कोकिन बरामद गरेको छ । बरामद कोकिनको अन्तर्राष्ट्रिय बजारमा अवैध मूल्य झन्डै २७ करोड रुपैयाँ पर्छ । प्रहरीका अनुसार उत्पादन अत्यधिक बढेकाले पछिल्लो अवधिमा कोकिन प्रतिग्राम ३० हजार रुपैयाँमा बिक्री हुँदै आएको छ । 

ब्युरो प्रमुख डिआइजी दिनेश अमात्यले नेपालको बाटो हुँदै अन्तर्राष्ट्रिय बजारमा कोकिन तस्करी बढेको बताए । ‘केही दिनअघि तीन किलो कोकिन बरामद भयो, अहिले ६ किलो भेटिएको छ । यी घटनाले नेपालको बाटो हुँदै अन्तर्राष्ट्रिय बजारमा कोकिन तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको पुष्टि हुन्छ,’ उनले भने ।

प्रहरीका अनुसार गत मंगलबार बरामद भएको तीन किलो कोकिन ज्याकेटको फल्स बटनभित्र लुकाई ल्याइएको थियो । शनिबार बरामद भएको ६ किलो कोकिन पनि ज्याकेटको फल्स बटनभित्रै लुकाई–छिपाई ल्याउँदै गरेको अवस्थामा फेला परेको हो । दुवै घटनामा तस्कर समूहले एकै मुलुक (बोलिेभिया)का नागरिक प्रयोग गरेको छ । दुवै घटनामा बरामद कोकिन एकै मुलुकबाट आयात गरिएको खुलेको छ ।

यी तथ्यले नेपाललाई ‘ट्रान्जिट’ बनाई कोकिन तस्कर गर्ने समूह एउटै रहेको प्रहरीको दाबी छ । ‘गत मंगलबार बरामद भएको कोकिनको तस्करी शैली र पछिल्लोपटक बरामद कोकिनको तस्करी शैली एउटै छ । तस्करीका लागि प्रयोग गरिएका भरिया र आयात गरिएको मुलुकसमेत एउटै छ । नेपाललाई ट्रान्जिट बनाएर कोकिन तस्कर गर्ने समूह एउटै भएको यसले पुष्टि गर्छ,’ ब्युरोका एसएसपी वसन्त लामाले भने ।

प्रहरीले गत मंगलबार ४१ वर्षीया हेरा आर्तेगा र शनिबार रोबर्ट कार्लोस मेरुबिया मारियस र रुल जाम्ब्रना अर्डेनेजलाई पक्राउ गरेको हो । उनीहरू बोलिभियन नागरिक हुन् । पक्राउ परेका तीनैजना ब्राजिलबाट कोकिन बोकेर नेपाल आएका थिए । 

 प्रेमी–प्रेमिका नै तस्करका भरिया 

प्रहरीले शनिबार ब्राजिलबाट ल्याइएको ६ किलो कोकिन रोबर्ट कार्लोस र रुल जाम्ब्रनासँग बुझेर हङकङ लैजान लागेका बेलारुसका नागरिक पाभेल भसिलयु र एलिना अल्डोसेनालाई पक्राउ गरेको थियो । अनुसन्धानपछि पक्राउ परेका बेलारुसका दुईजना प्रेमी–प्रेमिका भएको खुलेको छ । कोकिन तस्करी गर्नकै लागि उनीहरूलाई तस्कर समूहले बेलारुसबाट नेपाल ल्याएको थियो । उनीहरूलाई नेपालबाट कोकिन बुझेर हङकङ लैजाने जिम्मा दिइएको थियो । तस्करीकै क्रममा पक्राउ गरेपछि उनीहरूको योजना तुहिएको हो ।

नौ वर्षको अवधिमा डेढ अर्बको कोकिन बरामद 

नौ वर्षको अवधिमा नेपाल प्रहरीले साढे ५२ किलो कोकिन बरामद गरेको लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकमा उल्लेख छ । हालको अवैध मूल्यअनुसार बरामद कोकिनको मूल्य एक अर्ब ५७ करोड रुपैयाँ पर्छ ।  

नयाँ पत्रिकाबाट