काठमाडौं - गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका छन्।

पछिल्लो नेकपा विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेका बादललाई फकाउन प्रचण्ड आज (मंगलबार)बिहानै पुल्चोकस्थित मन्त्री निवासमा पुगेका हुन् । सोमबार पनि थापासँग प्रचण्डले छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले संसद भंग गरेसँगै यो असंवैधानिक कदम भएको आरोप लगाएर सात जना मन्त्रीले राजीनामा दिइसकेका छन्। राजीनामा दिने सबै नेताहरु प्रचण्ड माधव नेपाल पक्षका हुन्। पूर्व माओवादी कोटाबाट मन्त्री बनेका बादल र लेखराज भट्टले भने प्रधानमन्त्री ओलीलाई साथ दिइरहेका छन्।

पार्टी जोगाउन अन्तिमसम्म लागिपरेका भन्दै ओली र प्रचण्ड नेपाल पक्षका नेताहरु बताइरहँदा एकता तोडिने चरणमा पुगेको छ। यसबीचमा प्रचण्ड बादल भेट्न पुल्चोक पुगेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गलत भएको बताए पनि थापा सोमबार दुवै अध्यक्षले राखेका कुनै भेलामा सहभागी भएनन्। तर, सोमबार बेलुका भने थापाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग १ घण्टा छलफल गरेका थिए।

आज ओली र प्रचण्डले छुट्टाछ्ट्टै केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ओली पक्षका केन्द्रीय सदस्यलाई बिहान ९ बजे बालुवाटार बोलाइएको छ भने प्रचण्ड– वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउँसो १ बजे बबरमहलस्थित कार्की बेंक्वेटमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।