विपक्षी दलहरू भन्छन् : ‘राजावादीको प्रदर्शन सरकारप्रतिको असन्तुष्टि हो, सच्चिन जरुरी छ’
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तथा विपक्षी दलहरूले सरकारको कमजोरी तथा अर्कमण्यताका कारण देशभर जनतामा असन्तुष्टि बढेको बताएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेस तथा विपक्षी दलहरूले सरकार संविधानको मर्मअनुसार नचल्दा सडकमा असन्तुष्टि देखिएको टिप्पणी गरेको हो ।
बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले देशभर राजावादीको आन्दोलन बढ्नु सिस्टमको खराबी नभएर सरकारको कार्यशैली मात्रै भएको र सरकार सच्च्निन जरुरी रहेको बताए । सरकार सच्चियो भने कुनै पनि प्रवृत्ति सफल हुन नसक्ने उनको भनाई थियो ।
उनले बैठकमा सरकारको तर्फबाट भ्रष्टाचार तथा अनियमितता, विभेदकारी र मदनकारीसत्ता एवम् लोकतान्त्रिक संविधानको मर्म विपरित कमजोर बनाउने प्रयास भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको पनि जानकारी दिए ।
यस्तै, जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्त ठाकुरले अस्वीकृत भएको व्यवस्थाकाविरूद्ध भएका राजतन्त्रका आन्दोलनमा साथ नरहने स्पष्ट पारेका छन् । बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता जनकराज शर्माले भ्रष्टाचार तथा अनियमितता भएको र असन्तुष्टि सडकमा देखिन थालेको औँल्याए ।
राप्रपाका नेता दीपक बोहोराले भने आफ्नो पार्टीले वर्तमान संविधानप्रति प्रतिवद्धता जनाउँदै हाल भइरहेका प्रदर्शनहरुमा नैतिक समर्थन रहेको बताएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस