काठमाडौं - नेपाली स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी कोजेन्ट हेल्थले इसेवासँगको सहकार्यमा अनलाइनमार्फत् अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरूवात गरेको छ ।

कोजेन्ट हेल्थले शुरू गरेको ई–अपोइन्टमेन्ट्समार्फत विरामी अथवा अन्य सर्वसाधारणले इसेवाको एपबाट आबद्ध स्वास्थ्य संस्थाका कुनै पनि डाक्टरहरूसँग ओपीडी परामर्शका लागि सहजै बुक गर्न सक्नेछन् । साथै इसेवामार्फत् शुल्कसमेत भुक्तान गर्न सक्नेछन् ।

कोजेन्ट हेल्थका प्रबन्ध निर्देशक डेनियल डी श्रेष्ठले सेवा शुभारम्भको घोषणा गर्दै भने, ‘स्वास्थ्य सूचना प्रविधि र डिजिटल वित्तीय प्रविधिलाई एकीकृत गर्दै बनाइएको यस नवीनतम् सेवाले नेपालमा दिगो डिजिटल इकोसिस्टम निर्माण गर्ने दिशामा अग्रसर हुने विश्वास लिएका छौं ।’

यो सेवाको शुरूवातले अस्पताल तथा स्वास्थ्य सेवा संस्थाहरूलाई उनीहरूको ओपीडी सेवाहरू सुलभ र व्यवस्थित बनाउने मात्र नभई इसेवाका ३५ लाख बढी सक्रिय प्रयोगकर्ता र यसका एजेन्ट साझेदारहरूले देशभर सेवा प्रदान गरिरहेका एक करोडभन्दा बढी प्रयोगकर्तामा विस्तार गर्ने काममा सहयोग पुर्याउँछ ।

अहिलेको कोभिड १९ को महामारीले उत्पन्न विषम परिस्थितिमा जोखिम न्यूनीकरणका लागि आम जनताले आफ्नो घरबाटै चाहेको अस्पताल र चिकित्सक पत्ता लगाई अपोइन्टमेन्ट बुक गर्न र लाइन बस्दा हुन सक्ने जोखिम र झन्झटबिना नै उपचार तथा परामर्श लिन सकिन्छ । हाल निदान अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र बीपी कोइराला नेत्र विज्ञान केन्द्रजस्ता प्रतिष्ठित निजी स्वास्थ्य संस्था यस प्लेटफर्ममा आबद्ध भइसकेका छन् भने दर्जनौं अस्पताल तथा स्वास्थ्य संस्थामा यो सेवा शुरू हुने क्रममा छ ।