काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ ।
प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइलबाट प्रमाण मेटाएको र अनुसन्धान प्रभावित पारेको आरोप लगाउँदै जाहेरी दिइएको हो ।
नेपाली कम्युनिष्ट पार्टी निकट योङ कम्युनिष्ट लिग (वाईसीएल) का केन्द्रीय सचिव धनबहादुर वलीले हुलाकमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर काठमाडौंमा एकैसाथ जाहेरी पठाएका हुन् ।
यसअघि सोमबार जाहेरी दिन काठमाडौं प्रहरी परिसर पुगेका वलीको जाहेरी प्रहरीले लिन अस्वीकार गरेको थियो । त्यसपछि उनले हुलाकमार्फत तीनवटै निकायमा जाहेरी पठाएका हुन् ।
जाहेरीमा बेनसहितका व्यक्तिको संलग्नतामा सापकोटाको मोबाइलबाट आफूसँग सम्बन्धित प्रमाण मेटाउने र अनुसन्धानलाई प्रभावित पार्ने काम भएको आरोप लगाइएको छ । सुरुमा अभद्र व्यवहार र पछि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएका सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको मोबाइल विभिन्न स्थानमा पुर्याइएको दाबीसमेत जाहेरीमा गरिएको छ ।
वलीले मोबाइल कहाँ–कहाँ पुर्याइएको थियो भन्ने विवरण खुलाउँदै फरेन्सिक ल्याबको परीक्षण प्रतिवेदनसमेत प्रमाणका रूपमा पेस गरेका छन् ।
जाहेरीमा उल्लेख भएअनुसार असोज १५ गते दिउँसो ४ः३०ः४५ बजे सापकोटाको मोबाइल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याइएको थियो । त्यसको करिब ४० मिनेटपछि अर्थात् ५ः१०ः१८ बजे सिंहदरबारको दक्षिण गेट हुँदै बाहिर लगिएको र ५ः२५ः०५ बजे ललितपुरको कुपण्डोलस्थित ज्वागलमा रहेको बेनको घरमा पुर्याइएको दाबी गरिएको छ।
यस प्रकरणमा प्रधानमन्त्रीको सचिवालयका विशाल अधिकारीको भूमिकामाथि पनि प्रश्न उठाइएको छ । अधिकारी प्रहरीको सोधपुछ कक्षमै पुगेर सापकोटामाथि भइरहेको अनुसन्धानबारे कुराकानी गरेको भिडियोसमेत सार्वजनिक भएको जाहेरीमा उल्लेख छ ।
त्यस्तै, प्रधानमन्त्रीको सचिवालयका चिराग श्रेष्ठको समेत संलग्नता रहेको दाबी गर्दै वलीले अनुसन्धानको माग गरेका छन् । गृहमन्त्रीको सचिवालयका जेम्स कार्कीमाथि पनि प्रमाण नष्ट गरेको तथा अनुसन्धान प्रभावित पारेको आरोपमा छानबिन गर्न जाहेरीमार्फत माग गरिएको छ ।
वलीले मोबाइलको आवागमन, फरेन्सिक परीक्षणमा देखिएका विवरण र सम्बन्धित व्यक्तिहरूको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् ।

.gif)



