काठमाडौं - नेपाल प्रहरीले सरुवा प्रक्रियालाई अनुमानयोग्य, पारदर्शी र व्यवस्थित बनाउन समिति गठन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले डीआईजी राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा समिति बनाएर सरुवासम्बन्धी काम अघि बढाएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले सरुवा प्रक्रियालाई पारदर्शी र अनुमानयोग्य बनाउन समिति गठन गरिएको जानकारी दिए ।
अन्वेषण, योजना तथा विकास निर्देशनालयका डीआईजी भट्टको नेतृत्वमा गठित समितिले कामसमेत सुरु गरिसकेको छ । १८ कात्तिकमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भएका डा. मनोजकुमार केसीले पदभार ग्रहण गरेलगत्तै सरुवा प्रक्रियालाई पारदर्शी बनाउने प्रतिबद्धता जनाएका थिए । उनकै निर्देशनअनुसार समिति गठन गरेर काम थालिएको हो ।
प्रहरीमा सरुवाका विषयमा पटक–पटक गुनासो आउने र प्रक्रिया पारदर्शी नभएको आरोप लाग्ने गरेको छ । यस्ता गुनासा अन्त्य गर्दै सरुवामा निष्पक्षता कायम गर्ने उद्देश्यले समितिले काम गरिरहेको बताइएको छ ।

.gif)



