काठमाडौं,चितवन - प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शङ्कास्पत वस्तु राखेका हुन् ।

निर्वाचनको समयमा त्रास फैलाउनका लागि यस्तो गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त वस्तुलाई आज बिहान ३ः३० बजे निस्क्रिय पारिएको कार्यालयले जनाएको छ ।

यस्तै भरतपुर माहानगरपालिका–१६ वडा कार्यालय नजिक सिलिण्डरमा आगो लगाएर छाडेको पाइएको पण्डितले बताए । सो सिलिण्डरलाई सुरक्षित स्थानमा राखिएको उनले जानकारी दिए ।