काठमाडौं - कवि अमृता स्मृतिको नयाँ कविताकृति 'नदीको तिर्खा' लोकार्पण गरिएको छ । शनिवार काठमाडौंको कुञ्ज थिएटरमा एक कार्यक्रम आयोजना गरि कविता कृतिको विमोचन गरिएको हो ।

कार्यक्रममा नदीको तिर्खा पुस्तकमा समावेश कविताहरूको चर्चा परिचर्चा गरिएको थियो । पुस्तकमाथि धारणा राख्दै कवि उमेश अकिञ्चनले कवि अमृता स्मृतिको कविता सशक्त र सरल रहेको बताए । उनले कवितामा नारी विद्रोह समेत समावेश गरेको उल्लेख गरे । उनले भने,'समग्रमा कविताकृति विभेद विरुद्धको पैरवी गरेको मैले पाएँ, जुन साँच्चै राम्रो छ ।' कार्यक्रमका विशिष्ट र अतिथि शैलेश साकारले अहिलेको समयको आवाज कवि स्मृति भएको बताए । उनले पुस्तकमाथि धारणा राख्दै कविले कवितामार्फत विद्रोह गरेको सुनाए । उनले भने,'अहिले देशको अवस्था नै यस्तै छ, कवितामा विद्रोह छ, शक्तिशाली छ ।' विशिष्ट अतिथि कवि साकारले कवितामा परिस्कृत विम्बको प्रयोग भएको बताए । उनले भने,'म कविता संग्रहको शीर्षकबाटै प्रभावित भएँ ।'

कार्यक्रममा प्रमुख अतिथि रहेका वरिष्ठ कवि तुलसी दिवसले कवितामा कवि इमानदारी भएको सुनाए । कवि अमृता स्मृतिफे कविता संग्रहमा शशक्त कविता लेखेको सुनाए । कवि तुलशी दिवसले चर्चाको लागि मात्रै कविता लेख्न नहुने उल्लेख गरे । उनले भने,' पारिवारिक मात्रै हैन राष्ट्रिय घटनामा पनि कविता लेख्न सक्नुपर्छ, यसमा कवि इमान्दारी हुनुपर्छ, यसमा कवि अमृता स्मृति सजग हुनुहुन्छ ।'

कविता संग्रह लोकार्पण कार्यक्रममा बोल्नेहरू सबेे कवि रहेको भन्दै वरिष्ठ कवि तुलसी दिवसले खुशी व्यक्त गरे । 'भाषाशैली र प्रस्तुतिमा कविको आफ्नो पन देखिएको छ, जुन निकै राम्रो छ,' उनले भने । कवि अमृता स्मृतिले कार्यक्रममा १० वर्षपछि नयाँ पुस्तक सार्वजनिक गर्न पाउँदा खुशी लागेको सुनाइन् । उनले कविता कृतिप्रति आआफ्नो सल्लाह सुझाव दिन आग्रह गरिन् ।