काठमाडौं - मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् । ४ साउनमा पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोप अहिराजमाथि लागेको थियो ।

यता, अहिराजले पनि आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध मुद्दा हालेका छन् । अहिराजले आज काठमाडौं जिल्ला अदालतमा जाहेरीकर्ता युवतीविरुद्ध नै मुद्दा दायर गरेका हुन् ।

अहिराजबाट पीडित भएकी युवतीविरुद्ध अहिराजकै जाहेरीका आधारमा आपराधिक लाभको कसुरमा मुद्दा दायर भएको छ ।

युवतीले धम्क्याउँदै २० लाख मागेको र नदिएपछि सामाजिक रुपमा बदनाम गर्नेदेखि आत्महत्या गर्नेसम्म धम्की दिँदै रकम लिएको दाबी गर्दै अहिराजले मुद्दा दायर गरेका हुन् ।

सुरुमा २० लाख माग गरेकोमा आफूले नगदै तीन लाख रुपैयाँ दिएको दर्ता भएको अहिराजले दायर गरेको मुद्दामा उल्लेख छ ।

बलात्कार पीडित युवतीले जाहेरी दिएपछि जिल्ला अदालतमा मुद्दा दायर भएको दोस्रो दिन अहिराजले पनि ती युवतीविरुद्ध आपराधिक लाभको जाहेरी दर्ता गराएका हुन् ।