हेटौँडा - निरन्तर वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह तीव्र रूपमा बढ्न थालेपछि पहिलो चेतावनी जारी गरिएको छ ।
जलाशयको जलसतह बढ्दै गएर बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेपाल विद्युत् प्राधिकरणको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले सतर्क रहन आग्रह गरेको हो ।
कुलेखानी जलविद्युत् आयोजनाको जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेकाले जलाशय ९इन्द्रसरोवर० मा पानीको मात्रा बढ्दै गएको छ । जलसतह सन्तुलित राख्न बाँधका ढोका खोल्नुपर्ने सम्भावनालाई मध्यनजर गर्दै आयोजनाले पहिलो चेतावनी जारी गरेको जनाएको छ ।
आयोजनाका अनुसार पानी बढ्ने क्रम तीव्र रहेकाले जलसतह नियन्त्रण गर्न ड्यामका ढोका खोल्नुपर्ने अवस्था आए थप सूचना जारी गरिनेछ । त्यसअघि पूर्वचेतावनीस्वरूप साइरनसमेत बजाइने आयोजनाले जनाएको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै ड्यामको तल्लो तटीय क्षेत्र तथा नदी किनार आसपासका बस्तीमा रहेका नागरिकलाई खोला किनारबाट टाढा रहन र अग्लो तथा सुरक्षित स्थानमा जान आयोजनाले आग्रह गरेको छ । देउराली–सिस्नेरी सडकखण्ड भएर आवतजावत गर्नेहरूलाई समेत विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार हाल कुलेखानी ड्याममा पानीको सतह १ हजार ५२७.९३ मिटर पुगेको छ । वर्षा निरन्तर जारी रहेकाले अबको केही घण्टामै जलसतह १ हजार ५२८ मिटर पार गर्ने अनुमान गरिएको उनले बताए ।
प्रजिअ अधिकारीले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । साथै, सम्भावित विपद्बाट जोगिन आयोजनाले जारी गर्ने आधिकारिक सूचना र मोबाइलमा प्राप्त हुने एसएमएस सतर्कता सन्देशमा उल्लिखित निर्देशन पूर्ण रूपमा पालना गर्न उनले अनुरोध गरेका छन् ।

.gif)


