नुवाकोट - लगातारको वर्षासँगै खसेको पहिरोले नुवाकोटको त्रिशूली–वेत्रावती सडक अवरुद्ध भएको छ।

बेत्रावतीस्थित अगिटार क्षेत्रमा सडकको ठूलो हिस्सा नदीतर्फ भासिएपछि यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो।

लगातारको झरीले जमिन कमजोर बनेपछि सडकको ठूलो भाग भासिएर नदी किनारतर्फ खसेको छ। सडक नै भासिएपछि उक्त खण्डमा सवारीसाधन सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको छ।

सडकको बाँकी भागसमेत कमजोर रहेकाले सवारीसाधन सञ्चालन गर्दा थप दुर्घटनाको जोखिम बढेको छ। वर्षा नरोकिएकाले अगिटार क्षेत्रमा थप पहिरो खस्ने र सडकको बाँकी भागसमेत भासिने खतरा कायमै छ।

त्रिशूली–वेत्रावती सडक नुवाकोटको उत्तरी भेगका स्थानीयको आवागमनका लागि महत्त्वपूर्ण मार्ग हो।

सडक अवरुद्ध भएपछि वेत्रावती तथा आसपासका क्षेत्रबाट त्रिशूलीलगायत अन्य स्थानमा आवतजावत गर्ने यात्रु प्रभावित भएका छन्।

सडकको अवस्था सामान्य नभएसम्म उक्त खण्डमा सवारीसाधन सञ्चालन गर्नु जोखिमपूर्ण हुने बताइएको छ।