काठमाडौं - काठमाडौंमा निरन्तर भइरहेको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने दुई खेल प्रभावित हुने सम्भावना बढेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलको भविष्य मौसम र मैदानको अवस्थामै निर्भर रहने देखिएको छ ।

आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने तालिका छ।

काठमाडौंमा बिहीबार रातिदेखि सुरु भएको वर्षा शुक्रबार दिनभर जारी रह्यो। शनिबार बिहानदेखि पनि वर्षा नरोकिएकाले खेल सञ्चालनमा चुनौती थपिएको छ। यद्यपि, दिउँसोपछि मौसममा सुधार आउन सक्ने पूर्वानुमान गरिएको छ।

वर्षा जारी रहे खेल सुरु हुन ढिलाइ हुने वा निर्धारित ओभर घटाएर खेलाउनुपर्ने हुन सक्छ। वर्षाका कारण खेल सञ्चालन नै हुन नसके दुवै टोलीले एक–एक अंक बाँड्नुपर्नेछ।

एनपीएलको खेलको नतिजा निकाल्न दुवै टोलीले कम्तीमा पाँच–पाँच ओभर खेल्नुपर्ने व्यवस्था छ। तर, वर्षाका कारण खेल रद्द भए अर्को दिन खेलाउने अर्थात् रिजर्भ डे को व्यवस्था छैन।

त्यसैले शनिबारका दुवै खेल हुने वा नहुने भन्ने निर्णय मौसम र मैदानको अवस्थाले गर्नेछ।