काठमाडौं - महोत्तरीकाे बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको विरोधमा भएको प्रदर्शनलाई नियन्त्रण लिने क्रममा प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्। घाइते हुनेहरुमा बर्दिबास बस्ने ३५ वर्षीय संजय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की रहेको प्रहरीले जनाएको छ ।

घाइते न्यौपानेको तिघ्रामा, आलमको टाउकोमा गोली लागेको छ । उनीहरुको बर्दिबासस्थित पिनायक हस्पिटलमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं रिफर गरिएको हस्पिटलका एक चिकित्सकले जानकारी दिए ।

आइतबार बेलुकादेखि बेपत्ता भएकी शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति झाडीमा बोरामा खाँदेको अवस्थामा फेला पारेको थियो ।

बालिका हत्या आरोपमा पक्राउ परेका स्थानीय २५ वर्षीय अरुण कुमार साहले आरोप स्विकारिसकेको प्रहरीले जनाएको छ । यस्तै, आक्रोशित बनेका स्थानीयले साहको घरमा समेत आगो लगाइदिएका छन् ।