कालापानीबाट भारतीय फौज फिर्ता गराउँछौँः प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूभाग कालापानीबाट भारतीय सेना हटाएरै छाड्ने चेतावनी दिएका छन्। उनले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याएरै छाड्ने दाबी समेत गरे।
कात्तिक १६ गते भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालका लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेपछि त्यसबारेमा नेपालमा भारतको तीव्र विरोध भइरहेको छ।
प्रधानमन्त्री ओलीले नेपालको नक्सा सच्याउने मात्रै नभई अतिक्रमित भूमि फिर्ता ल्याउने ठोकुवा गरेका हुन्। आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरे। ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं, हाम्रो भूमिबाट छिमेकीले सेना फिर्ता लैजाऊन’, उनले भने।
प्रधानमन्त्री ओलीले भारतसँग कुनै पनि हालतमा तनाव गर्ने पक्षमा सरकार नरहेको बताउँदै संवादबाटै सीमा विवाद समाधान गर्ने प्रक्रिया अघि बढेको जानकारी दिए। ‘छिमेकीसँग तनाब नहोस् भन्ने हामी चाहन्छौं, अहिलेको सरकार संवाद गर्न नसक्ने छैन’, उनले भने, ‘राष्ट्रिय हितका पक्षमा अड्न र लड्न सक्छ।’ भारतले नेपाली भूमि अतिक्रमण गरेपछि त्यसबारेमा देशमा राष्ट्रिय एकता बनेको छ।
फेसबुक पेज Like गर्नुहोस