काठमाडौं-ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्। प्रहरीले ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राईलाई पक्राउ गरेको हो।

शुक्रबार दिउँसो चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि राईले निर्घात कुटपिट गरेका थिए। उनलाई शुक्रबार अपराह्न पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए।

चापागाउँ दोबाटोमै मोबाइल पसल रहेको राईले ट्राफिक व्यवस्थापनमा काम गरिरहेका हवलदार शाहसँग निहुँ खोजी एक्कासी कुटपिटमा उत्रिएको एसपी कार्कीले बताए।

राईलाई सोही दिन पक्राउ गरी सातदोबाटो प्रहरी वृत्तमा राखिएको छ। उनीविरूद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए।