चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–२२ ले पटिहानीमा नवनिर्मित ‘अम्ब्रेला स्ट्रिट’को शुभारम्भ गरे ।
बिहीवार शुभारम्भ गर्दै उनले पटिहानीको पर्यटन विकास र विस्तार गर्न अम्ब्रेला स्ट्रिटले थप सहयोग विस्तार गर्ने विश्वास प्रकट गरे ।
करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको यो स्ट्रिट करिब तीन करोडको लागतमा निर्माण सम्पन्न गरिएको वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए । अम्ब्रेला स्ट्रिटमा लहरै ४८० वटा रङ्गीन छाता राखिएको छ ।
रङ्गीन छाताले यो क्षेत्रको नयाँ सौन्दर्यता प्रदान गरेको छ । यसको प्रचार–प्रसार तथा स्थानीय खानाका परिकारलाई प्रवद्र्धन गर्न पटिहानी खाना महोत्सव आयोजना गरिएको छ ।
महोत्सवमा २० वटा प्रदर्शनीकक्ष राखिएका छन् । कक्षमा स्थानीय खानाका परिकारलाई जोड दिइएको खाना महोत्सव प्रचार–प्रसार समितिका संयोजक रामहरि सेढाईले जानकारी दिए ।
साङ्गीतक कार्यक्रमसमेत आयोजना गरिएको छ । पर्यटकका लागि महोत्सव अवधिमा विशेष छुटको समेत घोषणा गरिएको छ ।
पाँच हजार मिटर दौड प्रतियोगिता, उद्योग वाणिज्य सङ्घ चितवनको परिसरदेखि अम्ब्रेला स्ट्रिटसम्म साइकल रेस, महोत्सव अवधिभर डुङ्गा, गाडा सयर, हात्ती र जीप सफारीको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।

.gif)


