उपेन्द्र यादवले सम्हाले कानुन मन्त्रालय
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय हेरफेर गरेको चार दिनपछि सोमबार उपप्रधानमन्त्री उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
सल्लाह नगरी मन्त्रालय हरेफेर गरिएको भन्दै समाजवादी पार्टीले औपचारिक रूपमा आपत्ति जनाए पनि पार्टी अध्यक्षसमेत रहेका यादवले नयाँ तोकिएको मन्त्रालयको कार्यभार सम्हालेका हुन् । यसअघि उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
पार्टीका अधिकांश नेताले सरकारबाट बाहिरिन सुझाए पनि यादवले संविधान संशोधनको मुद्दा अघि बढाउन र नेकपा–राजपाबीच हुन सक्ने गठबन्धन रोक्न तत्कालका लागि सरकार छाड्न नहुने विश्लेषणसहित नयाँ मन्त्रालय सम्हालेका हुन् । उनकै विश्लेषणका आधारमा समाजवादीको शनिबारको बैठकले सरकारमै रहेर नेकपासँग वार्ता गर्ने निर्णय गरेको थियो ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस