सख्याको दम्भ नपाल्नू, संविधान र कानुनभन्दा माथि कोही हुँदैन: गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई संख्याको बलमा दम्भ नदेखाउन चेतावनी दिएका छन् ।
सुनसरीमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारलाई जवाफदेही बन्न र सुशासनमा स्पष्टता देखाउन लगायतका पाँच बुँदे प्रश्न र सुझाव प्रस्तुत गरेका हुन् ।
संविधान संशोधनलाई संवेदनशील ढंगले अघि बढाउन, भदौ २४ को घटनाको निष्पक्ष छानबिन गर्न तथा सुशासनमा स्पष्टता देखाउन आग्रह गरे ।
थापाले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई करिब दुई तिहाइ जनमत प्राप्त भएको स्वीकार गर्दै शक्ति र लोकप्रियताको आधारमा संविधान र कानुनभन्दा माथि जान नहुने बताए । प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै उनले संवैधानिक सीमा र कानुनी दायराभित्र रहेर काम गर्न सुझाव दिए ।
सरकारले जवाफदेहिता देखाउन नसकेको आरोप लगाउँदै उनले विगतमा बहुमत प्राप्त सरकारहरूले कार्यकाल पूरा गर्न नसकेको उदाहरण स्मरण गराए ।
थापाले भने- 'सरकार चलाउने जनमत पाएकोमा सम्मान छ, तर सरकार जवाफदेही बन्नुपर्छ ।'
सुकुमबासी बस्ती व्यवस्थापनको विषयमा पनि उनले सरकारको कार्यशैलीप्रति आपत्ति जनाए । व्यवस्थापन नगरी बस्ती भत्काउन नपाइने भन्दै कानुनले तोकेको प्रक्रिया र जिम्मेवारीअनुसार मात्रै काम गर्न चेतावनी दिए ।
उद्योगी, व्यवसायी र बैंकरलाई मनपरी ढंगले पक्राउ गरिएको भन्दै उनले सरकारप्रति आक्रोश व्यक्त गरे । निर्माण व्यवसायीलाई घरबाट प्रहरी लगाएर उठाइएको र बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बिना कारण पक्राउ गरिएको खबर आएको उल्लेख गर्दै यस्ता गतिविधि दोहोरिए कांग्रेसले प्रतिवाद गर्ने चेतावनी दिए ।
सहकारी पीडितलाई करिब एक खर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्था भए पनि सरकारले केही करोड रुपैयाँ निकासा गरेर लोकप्रियता खोजेको उनको आरोप थियो ।
साथै संविधान संशोधनको विषयलाई खेलाँची नबनाउन चेतावनी दिँदै थापाले नेपालको संविधान २०७२ नेपाली जनताको भावनासँग जोडिएको बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस