काठमाडौं - महोत्तरीको बर्दिबास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। मंगलबार ६ वर्षीया बालिका हत्याको बिरोधमा प्रर्दशन भएपछि आज पनि प्रर्दशन हुनसक्ने आशंकामा जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको हो।

सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जानकारी दिए ।

पूर्वमा रातुखोला, पश्चिममा बर्दिबास माइस्थान, उत्तरमा बर्दिबास ३ पाटु र दक्षिणमा रामानन्द चोक चार किल्ला कायम गरेर निषेधाज्ञा जारी गरिएको छ ।

मंगलबार विरोध प्रदर्शन नियन्त्रणको क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।

हेलिकप्टरबाट ग्रान्डी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो । उपचारको क्रममा गएराति १२ बजे उनको मृत्यु भएको छ ।

यससँगै बुधबार विरोध झनै चर्किने भएपछि निषेधाज्ञा गरिएको सिडिओ कटवालले बताए । आइतबार बेलुकादेखि बेपत्ता भएकी शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति झाडीमा बोरामा खाँदेको अवस्थामा फेला पारेको थियो ।

बालिका हत्या आरोपमा पक्राउ परेका स्थानीय २५ वर्षीय अरुण कुमार साहले आरोप स्विकारिसकेको प्रहरीले जनाएको छ । आक्रोशित बनेका स्थानीयले मंगलबार बिहान साहको घरमा समेत आगो लगाइदिएका थिए ।