काठमाडौं - अग्नि सापकोटालाई सभामुख पदमा चयन गर्न नहुने भन्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ।

सापकोटालाई सभामुख बनाउन नहुने भन्दै माइतीघरमा प्रदर्शनकारी भेला भएका थिए । उनीहरूले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।

उनीहरुले विधिको ‘शासन कायम गर, हत्यारा सभामुख चाहिँदैन, ओली सरकार होसियार’ लगायतका नारा लगाउँदै सापकोटालाई सभामुख चयन गर्ने निर्णय फिर्ता लिन सत्तारुढ नेकपालाई आग्रह गरेका थिए।

सापकोटालाई सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार बनाएको छ। एकल उम्मेदवारी परेपछि सापकोटा सम्भवतः आइतबार सभामुख पदमा चयन हुनेछन्। भोलि तीन बजे प्रतिनिधिसभाको बैठक डाकिएको छ।

तर सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप लागेको छ । हत्या जस्तो जघन्य अपराधमा संलग्न रहेको आरोप लागेका नेतालाई संसदको सर्वोच्च पदमा आसिन गराउन नहुने भन्दै केही दिनदेखि काठमाडौंमा लगातार प्रदर्शन भइरहेको छ।

माइतीघरमा दिनहुँ भइरहेको विरोध प्रदर्शनमा माओवादी कार्यकर्ताले हत्या गरेका अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामा पनि सहभागी हुँदै आएकी छन्। शनिबारको विरोध प्रदर्शनपछि पूर्णिमायाले आफ्ना श्रीमानका हत्यारालाई कारबाही गर्नुको साटो सभामुख बनाउने निर्णयले आफूहरुको न्याय पाउने आशामा तुसारापात भएको बताइन्।