काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट नेपाली विद्यार्थी ल्याउन अझै केही दिन लाग्ने जनाएको छ ।

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी ‘कोरोनाभाइरस’को संक्रमणले ग्रसित वुहान सहरबाट स्वदेश फर्कन चाहने विद्यार्थीलाई ल्याउन अझै तीन/चार दिन लाग्ने जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले चीनको वुहान सहरभन्दा ५०० किलोमिटरसम्म टाढा रहेका विद्यार्थीलाई एक ठाउँमा ल्याउन नै केही समय लाग्ने हुँदा केही दिन ढिलो हुने जानकारी दिए ।

चीनबाट नेपाल ल्याइएका विद्यार्थीलाई बेग्लै ठाउँमा राख्ने स्थलको खोजी भइरहेको प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । मंगलबार (भोलि) बेलुकासम्म ‘क्वारेन्टाइन’ स्थलको टुंगो लागिसक्ने उनको भनाइ थियो ।

प्रवक्ता डा. श्रेष्ठकाअनुसार नेपालमा हालसम्म १४ जना शंकास्पद व्यक्तिमा कोरोनाभाइरसको परीक्षण भइसकेको छ । जसमध्ये एकजनाबाहेक हालसम्म कसैमा पनि कोरोनाभाइरसको संक्रमण नभेटिएको मन्त्रालयले जनाएको छ ।