निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता
काठमाडौं - सरकारले नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन गर्न संंसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गराएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएको हो ।
कानून मन्त्री डा. शिवमाया तुम्बाहाङफेले हस्ताक्षर गरेको पत्र र परिवर्तित निशान छाप सहितको विधेयक सचिवालयमा दर्ता भएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार जारी भएको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा अनुसार संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।
संविधानको अनुसूची ३ मा निशान छाप सम्बन्धी व्यवस्था रहेको छ । निशान छापभित्रको नक्सा मिलाउन संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको व्यहोरा खुलाईको छ ।
संविधान संशोधनको उद्देश्य र कारणमा नेपालको संविधानको धारा ९ को उपधारा (२) मा नेपालको निशान छाप अनुसुची–३ मा उल्लेख भए बमोजिम हुने व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुरुपको नक्सा प्रकाशन गरेको हुनाले संसोधन गर्नुपरेको उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस