आज गणतन्त्र दिवस
काठमाडौं - आज जेठ १५ गते अर्थात् नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको दिन । स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण नेपालीले बिहिबार गणतन्त्र दिवस मनाउँदै छन् ।
आजकै दिन जनता र राजाबीचको लडाइँमा अन्ततः जित जनताकै हुन्छ भन्ने यथार्थले मूर्तरूप लिएको थियो । आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधान सभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो ।
दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ ।
विगत वर्षमा नेपाल सरकारले गणतन्त्र दिवसलाई धूमधाम र उत्सवका साथ स्वदेश तथा विदेशमा तीन दिनसम्म मनाउने गरेको थियो । साथै गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्ने र सो समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने परम्परा थियो तर यस वर्ष कोरोना भाइरस रोग (कोभिड– १९)को महामारीले देशभर बन्दाबन्दी रहेकाले गणतन्त्र दिवस शुभकामना सन्देश आदान प्रदानमै सीमित हुने भएको छ ।
यसअघि २०७२ साल जेठ १५ गते भने नेपालमा विनाशकारी भूकम्पले पुर्याएको जनधनको क्षतिको शोकमा गणतन्त्र दिवस मनाइएको थिएन ।
फेसबुक पेज Like गर्नुहोस