काठमाडौं - राष्ट्रियसभाको वागमतीतर्फको प्रदेशतर्फको रिक्त सदस्यका लागि विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएका डा. खिमलाल देवकोटाले आफ्नो उम्मेदवारी कायमै रहने बताएका छन् । 

एमालेभित्र देखिएका विवाद पछिल्लोसमय समाधान उन्मुख रहेको र उम्मेदवारीबारे के हुन्छ भन्ने चासो बढेपछि शुक्रबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको समर्थनमा उठेका देवकोटाले यस विषयमा पुनर्विचार गर्ने कुरा कल्पनाबाहिर रहेको बताएका हुन् । 

‘२०७८ वैशाख ३० गते भएको राजनीतिक घटनाक्रम पछि मेरा आदरणीय अभिभावक, शुभचिन्तक एवं मतदाताज्यूहरुले मेरो उम्मेदवारी प्रति जिज्ञासा राख्नु स्वभाविक नै हो । मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण लगायतका  लागि राजनीतिक दलहरु विभाजित हुनु हुँदैन । राजनीतिक पार्टी नीति, विधी र पद्धतीमा चल्नु पर्दछ, । यसमा विवाद हुन सक्दैन ।’ सामाजिक सञ्जालमार्फत  उनले भनेका छन्, ‘तर, मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय हो ।’

यस्तै, निष्ठा र ईमान्दारिताको राजनीतिप्रति आफ्नो गहिरो लगाव रहेको उल्लेख गर्दै देवकोटाले सवै मतदाताहरुमा उत्साहका साथ चुनावमा सहभागी भई चुनाव चिन्ह कलममा मतदान गर्नसमेत आग्रह गरेका छन् । ‘निष्ठा र ईमान्दारिताको राजनीति प्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वाश र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ । नेकपा एमालेका नेता कार्यकर्ता लगायत सवै राजनीतिक दलहरुले म प्रति पूर्ण विश्वास र सदभाव राख्नु भएको अवस्थामा मेरो उम्मेदवारी प्रति म प्रतिवद्ध छु । तर्सथ सवै मतदाताहरुमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिन्ह कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु’ उनले भनेका छन् ।