काठमाडौं - प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका ९ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।
प्रधान कार्यालयले सोमबार सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।
प्रहरी नियमावली, २०७१ को नियम ११५ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा नआएपछि प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको जनाएको छ।
तोकिएको अवधिभित्र हाजिर नभए प्रहरी नियमावलीका नियम ११३ र १०९ बमोजिम सेवाबाट हटाउने कारबाही अघि बढाइने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ।



