काठमाडौं - अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सोमबार देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ ।

नेपाल प्रहरीका अनुसार कतिपय सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा निश्चित समयका लागि सवारी आवागमन रोकिएको छ ।

प्रहरीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभिरलगायत विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । तनहुँको घाँसीकुवा, मौरीभिर, सेराटार र चुनपहरामा पनि पहिरोका कारण पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।

बिपी राजमार्गअन्तर्गत काभ्रेको चारसयबेँसी र गिम्दीबेँसीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तर्गत काभ्रेको पकुचामा पनि पहिरोका कारण यातायात रोकिएको छ ।

पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवा–नुवाकोट खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ । स्याफ्रुबेशीसम्म पुग्न टोखा–छहरे–विदुर–धुन्चे हुँदै वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ र लमजुङका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको गाईघाट र स्याङ्जाको पुतलीबजारमा पहिरोका कारण सडक बन्द भएको छ ।

त्यस्तै, बेनी–जोमसोम, जोमसोम–कोरोला, चामे–बेंसीसहर, कर्णाली राजमार्ग, कर्णाली करिडोर, महाकाली राजमार्ग, कान्तिलोकपथ, कालिगण्डकी करिडोरलगायत सडकखण्डमा पनि बाढी तथा पहिरोका कारण यातायात प्रभावित भएको छ ।

वर्षाका कारण जोखिम बढेपछि विभिन्न जिल्लामा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त सडकमा जबर्जस्ती आवागमन नगर्न आग्रह गरेको छ ।

May be an image of map and textMay be an image of map and text

May be an image of map and text

May be an image of map and text