काठमाडौं - जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग अन्तर्वार्ता लिएको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालसँग स्पष्टीकरण सोधेको छ ।

मंगलबार एक पत्र लेख्दै मन्त्रालयले जातीय विद्वेष र घृणा उब्जाएको तथा सरकारविरुद्ध सत्ता कब्जा पंगु निरंकुश शासक र भष्मासुर जस्ता लान्छनायुक्त शब्द सरकारविरुद्ध प्रयोग भएको भन्दै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई तीन दिनभित्र स्पष्टीकरण पठाउन भनिएको हो ।

'सोमबार बिहानको अन्तरसंवाद कार्यक्रममा डा. भट्टराईलाई बोलाएर जातीय विद्धेष, घृणा उब्जाएको, सत्ता कब्जा, पंगु, निरंकुश शासक र भष्मासुर जस्ता लाञ्छनायुक्त शब्द सरकारविरुद्ध प्रयोग भएको संवाद प्रत्यक्ष प्रसारण भएको पाइएको हुँदा यससम्बन्धनमा के कसो भएको हो ? तीन दिनभित्र स्पष्टीकरण पेश गर्नु हुन मन्त्रीस्तरीय निर्णायनुसार अनुरोध छ', पत्रमा भनिएको छ ।

अन्तर्वार्ताका क्रममा डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'भष्मासुर' भनेका थिए । सोमबार बिहान साढे ६ मा प्रत्यक्ष प्रसारित उक्त अन्तर्वार्तालाई रेडियो नेपालले सोमबार नै आफ्नो अनलाइनबाट हटाइसकेको छ ।