काठमाडौं - ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरविरुद्ध उजुरी दिने भएकी छन्। आफ्ना निजी तस्वीरहरु अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै निहारिकाले करिश्माविरुद्ध उजुरी दिन लागेकी हुन्।

करिश्माले केही दिनअघि निहारिका र उनका ‘पूर्वप्रेमी’ शिवराज श्रेष्ठका तस्वीरहरु सामाजिक सञ्जालमा राखेकी थिइन्। निहारिकाले शिवराजले नै आफूलाई बलात्कार गरेर बच्चा जन्मिएको भन्दै मुद्दा लडिरहेकी छिन्। 

निहारिका गत असारमा पहिलोपटक अनशन बस्दा करिश्माले उनको पक्षमा आवाज उठाएकी थिइन्। करिश्माले सामाजिक सञ्जालमा निहारिकाप्रति सहानुभूति दर्शाउनुका साथै उनलाई आर्थिक सहयोग समेत गरेकी थिइन्। करिश्माले २० हजार रुपैयाँ आर्थिक सहयोग पनि गरेकी थिइन्।

निहारिकाले शुक्रबार नै साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेकी छिन्। निहारिकाले आज करिश्माले गरेको सो आर्थिक सहयोगसमेत फिर्ता गर्ने भएकी छन्। उनले करिश्माको गोदावरीस्थित घरमै पुगेर पैसा फिर्ता गर्ने बताइन्।