अडियो/भिडियो काण्डबारे यसो भन्छन् नेकपा प्रवक्ता श्रेष्ठ
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कमानसिंह लामाको मृत्युपछि सार्वजनिक भएको अडियो/भिडियो सामग्रीका विषयमा आफूलाई फसाउन खोजिएको बताएका छन् । नेता श्रेष्ठले आफूले नेपाली कम्युनिष्ट आन्दोलन भ्रष्टीकरणतिर उन्मुख भएको भनेर निरन्तर पैरवी गर्दा आफूलाई फसाउन खोजिएको बताएका छन् ।
सेयर कारोबारमा श्रेष्ठले लामाको मध्यस्तता गरेको भन्दै एक भिडियो तथा अडियो सार्वजनिक भएको थियो । सोही भिडियोलाई जोडर आर्थिक लेनदेनमा श्रेष्ठ संलग्न भएको समाचारप्रति सत्यता नभएको बताउँदै श्रेष्ठले आफूले त्यसमा दुई पक्षलाई मिलाउन सहजकर्ताको भूमिकामा मात्रै रहेको दाबी गरेका छन् ।
उक्त लेनदेन कमानसिंह र सुसनबीचको भएको र उनीहरु मिल्न नसकेपछि आफूहरुसमक्ष आएर मिलाइदिनुपर्यो भनेकोले सहजकर्ताको काम गरेका श्रेष्ठको भनाई छ । श्रेष्ठले दुवै जना आफ्नो नजिकको मान्छे भएको कारणले आफूले मिल्नुहोस् मात्रै भनेको कुरा भिडियोमा नै प्रश्ट रहेको उनको भनाई छ ।
नेता श्रेष्ठले आफूले आर्थिक लेनदेन हुनेगरी बार्गेनिङ नगरेको दावी गरेका छन् । नेता श्रेष्ठले उक्त घटनाको अनुसन्धान गर्न समेत भनेका छन । साथै घटनामा थोरै पनि दोषी देखिए दण्ड भोग्न तयार भएको चुनौति दिएका छन् ।
पूर्वसांसद एवं पूर्वराजदूत समेत रहेका लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ । सोही विषयको कारण नेता श्रेष्ठ विवादमा तानिएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस