काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मतदाताहरूलाई मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन् । आइतबार बुटवलमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले भोट हाम्रो  शक्ति भएकाले यसलाई हस्तान्तरण गर्नुपूर्व हजारचोटि विचार गर्नुपर्ने बताएका हुन् ।लिङदेनले विगतमा मतदाताहरू झुटो आश्वासन, केही लिटर पेट्रोल, केही सय रुपैयाँ, वा माछामासु र मादकपदार्थको प्रलोभनमा परेर मतदान गर्दै आएको टिप्पणी गरे । 

उनले भने-’मैले हरेक ठाउँमा भन्दै आएको कुरा भोट भनेको शक्ति हो। यो शक्ति हस्तान्तरण गर्ने कुरा हो। त्यसकारणले आफ्नो शक्ति हस्तान्तरण गर्दा खेरि कसलाई दिइराखेको छु भन्नेकुरा हरेक मतदाताले सोच्नुपर्छ। आजसम्म हामीले झुट्ठा आश्वासनमा कहिले केही लिटर पेट्रोलमा, कहिले केही सय, केही हजारमा, जाँडरक्सीमा, माछामासुमा, नातागोतामा अथवा बाउबाजेले बोकी आएको पार्टी भन्नेमै हाल्दै आयौँ। अहिले पनि भोट दिने बेला आएको छ। तपाईंले मतदान गर्नुभन्दा अगाडि हजारचोटि सोचेर मात्रै मतदान गर्नुस् भनेर आएको छु ।'

लिङदेनले सत्तामा बस्ने नेताहरूले नयाँ समझदारी नगरे र आफ्ना गल्ती नसच्याए देश दुर्घटनामा जाने चेतावनी पनि दिएका छन् । लिङदेनले आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार काण्डको छानविनमा आफ्नो भुमिका रहेको स्मरण गराए । साथै राप्रपासँग देश बनाउने स्पष्ट योजना रहेको दाबी गर्दै काँग्रेस, एमाले र माओवादीका समर्थकहरूले पनि एकचोटि राप्रपाको चुनाव चिन्ह ‘हलो’ मा मतदान गर्न आग्रह गरेका छन् ।