कार्यालय समयमा दुर्घटना बढी, दोषी को ?
काठमाडौं - बारम्बार हुने सवारी दुर्घटनामा परी मर्नेहरूको ‘शवको बिस्कुन’ देख्दा १० वर्षे माओवादी जनयुद्धको जस्तै झल्को आउने गरेको छ ।’ १० वर्षे जनयुद्धभन्दा सवारी दुर्घटनामा मर्नेहरूको सङ्ख्या दोब्बर छ ।
२०५२ साल फागुनदेखि २०६२ सालसम्म १० वर्षे जनयुद्धमा १२ हजारको मृत्यु भएको दाबी गरिएको छ । सवारी दुर्घटनामा भने पाँच वर्षको अवधिमा १२ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
प्रहरी प्रधान कार्यालयबाट प्राप्त सवारी दुर्घटनासम्बन्धी आर्थिक वर्ष २०७०/२०७१ देखि आर्थिक वर्ष २०७५/२०७६ को तथ्याङ्कबाट सो कुरा स्पष्ट हुन्छ । आर्थिक वर्ष २०७५/०७६ मा २२ हजार ८७ वटा सवारी दुर्घटनामा परी दुई हजार एकसय ६० जनाको मृत्यु भएको छ ।
त्यस्तै, आर्थिक वर्ष ०७०÷०७१ मा १६ हजार सात सय दुर्घटना हुँदा एक हजार सातसय ८७ जनाको मृत्यु भएको थियो भने नौ हजार चारसय ६० जना गम्भीर र तीन हजार दुई सयजना सामान्य घाइते भएका छन् ।
दुर्घटनाको दोषी को ?
प्रायः दुर्घटनाको मुख्य दोष चालकलाई दिने गरिएको छ । नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दुर्घटनामा चालकलाई मात्र दोषी देखाउन नमिल्ने बताउँछन् ।
‘सवारी दुर्घटनामा प्रहरी, चालक, यात्रु, सवारी मालिक, सडक र मौसम सबै जिम्मेवार छन् । तर मुख्य जिम्मेवार पक्ष राज्य सरकार हो,’ उनले भने, 'सडकको दुरवस्था र चालकको अवस्था करीब–करीब उस्तै उस्तै हो ।'
चालकको क्षमता विकास र दुर्घटना न्यूनीकरणका लागि राज्यस्तरबाट कहिलै प्रशिक्षण हुदैन । चालक सामान्य परिवारबाट आएको हुनाले चालकलाई राज्यले समेत कहीँ कतै सम्बोधन नगरेको गुनासो उजको छ ।
नेपाल प्रहरीले भने ७० प्रतिशत सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरवाही भएको दाबी गरेको छ । तीव्र गति र सडकको दुरवस्थालाई पनि दुर्घटनाको अर्को मुख्य कारणमा राखिएको छ ।
यो पाँच वर्षको अवधिमा भएका सवारी दुर्घटनामा झण्डै १५ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, सडकको अवस्था ३, यात्रुको गल्ती ३, ओभरटेक २, यान्त्रिक गडबडी ३, मदिरापान सेवन ३ र मौसम १ प्रतिशत रहेको छ ।
कार्यालय समयमा दुर्घटना बढी
दिउँसो १२ बजेदेखि साँझ छ बजेसम्म सबैभन्दा बढी सवारी दुर्घटना हुने गर्छन् । कुल दुर्घटनाको ५० प्रतिशत दुर्घटना सोही समयमा हुने गरेका छन् । त्यो पनि सात प्रदेशको तुलनामा काठमाडौंँ उपत्यकामा सवारी दुर्घटनाको सङ्ख्या अधिक रहेको छ ।
त्यस्तै बिहान ६ देखि १२ बजेसम्म र साँझ छ बजेदेखि भोलि पल्ट बिहान झन् कम हुने गरेका छन् । रातिको अधिकांश दुर्घटनामा सर्वसाधारणको ज्यान जाने गरेको भनाइ प्रहरीको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवन श्रेष्ठ समयसँगै चालकको लापरवाही, यात्रु, सवारी धनी, सवारी साधनको अवस्था, सडक र मौसम दुर्घटनाका मुख्य कारण भएको बताउँछन् ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस