आगामी रणनीति तय गर्न विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै
काठमाडौं - विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक आज बस्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, सत्तारुढ नेकपा एमालेकै माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको संयुक्त बैठक बस्न लागेको हो ।
विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्ने तय भएको छ । बैठकमा आगामी रणनीति तय गर्नुका साथै पछिल्लो घटनाक्रमबारे छलफल हुने छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार कांग्रेसका ६१, नेकपा(माओवादी केन्द्र)का ४९, जसपाका १२, एमालेका २६ र जनमोर्चा नेपालकी दुर्गा पौडेलको समर्थन हस्ताक्षर लिएर प्रधानमन्त्री पदमा दाबी गरेका थिए । त्यसपछि नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि दाबी गरेको र दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने भन्दै राष्ट्रपति भण्डारीले खारेज गरेकी थिइन् । त्यसलगत्तै मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेकी छन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस