पूर्वडीआईजी कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, थुनामै रहने
काठमाडौं - सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन प्रसाद कोइरालाले थुनामुक्त हुनुपर्ने माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्ने आदेश दिएको हो ।
श्रीमती गीता ढकालको हत्या मुद्दामा जन्मकैदको फैसला भई हाल कारागारमा रहेका कोइरालाले आफूले ६० प्रतिशत कैद भुक्तान गरिसकेको दाबी गर्दै थुनामुक्त हुनुपर्ने माग गरेका थिए ।
उनले यसअघि २ हजार ४ सयभन्दा बढी कैदीबन्दीले छुट पाउँदा आफूलाई भने छुट नदिइएको भन्दै अदालतमा रिट दायर गरेका थिए ।
कोइरालाले निवेदनमा २०८१ साउन ३० मै ५९ प्रतिशत कैद भुक्तान गरेको, आफूले कानुनको पालना गरेको तथा असल आचरण रहेको जिकिर गर्दै कैद छुट पाउनुपर्ने माग अघि सारेका थिए ।
कोइरालालाई ०६८ माघ ८ गते नारायणगढबाट काठमाडौँ फर्कँदै गर्दा थानकोटबाट प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । त्यसयता उनी थुनामै रहेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस