फ्रान्समा फेरि ‘लकडाउन’ को घोषणा
काठमाडौं, एजेन्सी - कोरोनाको तेश्रो लहर सुरु भएसँगै फ्रान्समा पुनः लकडाउनको घोषणा गरिएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले टेलिभिजनमार्फत सन्देश दिँदै कोरोना नियन्त्रणका लागि पुनः चार साताका लागि लकडाउनको घोषणा गरेका हुन् ।
जसअनुसार लकडाउनका समयमा सम्पूर्ण विद्यालय र कलेजहरु बन्द रहनेछन् भने सरकारी कार्यालयको काम घरबाटै गर्नुपर्ने नियम लागु गरिएको छ ।
लकडाउनको समयमा अत्यावश्यक सामानका पसलहरु खुल्नेछन् भने सार्वजनिक सभामा पूर्णरुपमा रोक लगाइएको छ ।
टेलिभिजन सन्देशमा राष्ट्रपति म्याक्रोंले लकडाउनको नियम पालना गर्न सर्वसाधारणमा अपील गर्दै कोरोनाको संक्रमणको स्थिति नियन्त्रणबाहिर नभएपनि समयमै सावधानी अपनाउनका लागि लकडाउन गर्नुपरेको जनाए ।
उनले लकडाउनकै बीच खोप अभियानलाई तीब्रता दिने जानकारी दिँदै आगामी महिनासम्ममा फ्रान्सका ९० प्रतिशत जनताले कोरोना विरुद्धको खोप पाइसक्ने दाबी समेत गरे । यो समाचार तयार पार्दासम्म फ्रान्समा कोरोनाका कारण ९५ हजार ६४० जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस