एमालेको झन्डा जलाएको आरोपमा थप दुईजना पक्राउ
काठमाडौं - नेकपा एमालेको झन्डा जलाएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ हलवारका ३० वर्षीय रमेश रानामगर र तुलसीपुर–६ गाइडरका २४ वर्षीय विक्रम परियार पक्राउ परेका हुन् ।
गत फागुन ७ गते राति करिब साढे ९ बजे तुलसीपुर–५ स्थित वीरेन्द्रचोकमा एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झन्डा जलाइएको थियो। घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो ।
यसअघि शुक्रबार तुलसीपुर–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पनि पक्राउ गरिएको थियो।
घटनाका क्रममा केही व्यक्तिले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजीसमेत गरेको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ । साथै घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।
झन्डा दहन घटनाले दाङको राजनीतिक वातावरण तातेको छ भने स्थानीय प्रशासनले शान्ति–सुरक्षा व्यवस्थामा कडाइ गरेको जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस