काठमाडौं - हात र औँलाको चाल, अनुहार र शरीरको हाउभाउको माध्यमबाट आफ्नी छोरीका लागि लुगा खरिद गर्दै थिए, आशिष रायमाझी ।

लुगा व्यापारीसँग सहज रूपमा साङ्केतिक भाषामा बोलिरहनुभएका उहाँले छोरीका लागि रातो जामा खरिद गरे। लुगा खरिद गरेपछि खुसी देखिनुभएका रायमाझी साङ्केतिक भाषामा भन्छन्, 'म बहिरा भए पनि खुसी छु । मलाई विचरा भनेर सान्त्वना दिनु पर्दैन । हातखुट्टा बलिया छन् । परिवारको रेखदेख र खुसी राख्न सक्ने क्षमता मसँग छ, उनले भने, 'सामाजिक सुरक्षा भत्ताले हामीजस्तालाई सहज बनाएको छ । अझ पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई यो पैसाले कसैसामु हात फैलाउनु नपर्ने अवस्था सिर्जना भएको छ ।

अहिले सञ्चार तथा प्रविधिले हामीलाई पनि देश विदेशसँग जोडेको र आफूले विदेशमा रहेका साथीसँग सजिलै भिडियो कल गर्ने गरेको अनुभव रायमाझीले बताए। विद्यालयमा छोरीलाई केही पर्‍यो भने पनि शिक्षकहरू भिडियो कल गर्छन् भन्दै रायमाझीले भने, 'त्यस बेला मलाई पनि आफू अपाङ्गता भएको व्यक्तिजस्तो लाग्दैन ।'

अष्टलक्ष्मी जोशी पनि बोल्न र सुन्न सक्दैनन् तर पनि सौन्दर्य व्यवसायमा आबद्ध छिन्। २५ वर्षदेखि यस व्यवसायमा आबद्ध उनी आफूप्रति गर्व गर्छिन्। साङ्केतिक भाषामै बोल्नुपर्छ । कसैले भने बुझ्दैनन् त्यस्तो अवस्थामा लेखेर बुझाउनुहुन्छ । ग्राहकको हाउभाउले नै के गर्ने भन्ने बुझिन्छ । उनी भन्छिन्, 'मानिसमा आँट र जाँगर चाहिन्छ, जे काम पनि गर्न सकिन्छ । ग्राहकहरूले मलाई फोनमा सम्पर्क गर्छन्, त्यो बेला धेरै खुसी लाग्छ ।'

‘दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य’ नाराका साथ मङ्गलबार अपाङ्गता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अपाङ्गता अधिकार प्रवद्र्धन शाखाका उपसचिव पशुपति महतले अपाङ्गतामैत्री राज्य बनाउने सरकारको लक्ष्य रहेको जानकारी दिए। 

गोरखापत्रबाट