काठमाडौं - सरकारले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न भए कडा कारबाही हुने चेतावनी दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै निजामती कर्मचारीलाई संविधान, कानुन र आचरणसम्बन्धी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने स्पष्ट पारेको छ ।

साथै, कर्मचारीले राजनीतिक दल, भ्रातृ संगठन वा जनवर्गीय संगठनसँग आबद्ध भएर गतिविधि गरे कानुनबमोजिम सेवाबाट हटाइने चेतावनीसमेत दिएको छ ।

मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) ले कर्मचारीलाई राजनीतिमा संलग्न भए भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्न सकिने व्यवस्था गरेको छ ।

सूचनामा कर्मचारीले राजनीतिक दलको सदस्यता लिन, राजनीतिक गतिविधिमा सहभागी हुन वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बन्न नपाइने उल्लेख गरिएको छ ।

“निजामती कर्मचारी कुनै राजनीतिक दल, राजनीतिक दलको भ्रातृ संगठन वा जनवर्गीय संगठनमा आबद्ध भई सदस्यता लिएको वा राजनीतिक क्रियाकलापमा संलग्न भएको पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ,” मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।