काठमाडौं - वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ गरेका छन् । 

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-२ घर भई हाल काठमाडौंको टोखा बस्ने ३७ वर्षीय सागर गौतम, ओखलढुंगा सिद्धिचरण नगरपालिका–४ की ३७ वर्षीया सनम गुरुङ र  दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार फरक-फरक मुलुक पठाउने भन्दै रकम असुल गरी ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् ।

गौतमले युएई पठाउने भन्दै पीडितबाट चार लाख ५८ हजार रुपैयाँ,शम्भुले न्युजिल्यान्ड पठाउने भन्दै १५ लाख ९० हजार रुपैयाँ र सनमले क्यानडा पठाउने प्रलोभनमा २४ लाख रुपैयाँ ठगी ठगी गरेको प्रहरीको दाबी छ ।

रकम असुल गरेर उनीहरू लामो समयदेखि सम्पर्कविहीन भएका उनीहरुलाई अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । 

तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।