एजेन्सी - अस्ट्रेलियाले आप्रवासन प्रणालीमा थप कडाइ गर्दै भिसा ‘हपिङ’ र अध्यागमन प्रणालीको दुरुपयोग रोक्ने गरी नयाँ व्यवस्था अघि सारेको छ।
गृह मामिला मन्त्री टोनी बर्कका अनुसार भिसाको म्याद सकिएपछि पनि बसिरहने, एउटा अस्थायी भिसाबाट अर्कोमा पटक–पटक परिवर्तन गर्ने र अध्यागमन प्रणालीको कमजोरीबाट फाइदा लिने प्रवृत्ति रोक्न उक्त व्यवस्था अघि सारिएको हो ।
बर्कले आप्रवासन प्रणालीलाई देशको श्रम बजार र आवश्यक सीपअनुसार व्यवस्थापन गरिने बताएका छन्।
उनले कानुनी र व्यवस्थित आप्रवासनलाई सरकारले स्वागत गर्ने भए पनि अध्यागमन प्रणालीको दुरुपयोगलाई स्वीकार नगर्ने बताए ।
नयाँ नीतिको असर अन्तर्राष्ट्रिय विद्यार्थीमा पनि पर्नेछ । अब अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो परिवार वा डिपेन्डेन्टलाई विद्यार्थी भिसामार्फत अस्ट्रेलिया लैजान पाउने छैनन् ।
तर, नयाँ नियम लागू हुनुअघि नै परिवारसहित अस्ट्रेलियामा बसिरहेका विद्यार्थीका परिवारलाई भने यो व्यवस्था लागू नहुने मन्त्री बर्कले बताएका छन् ।
पछिल्लो सरकारी तथ्यांकअनुसार अस्ट्रेलियाको शुद्ध वैदेशिक आप्रवासन २०२३ को महामारीपछिको उच्च बिन्दुबाट ४५ प्रतिशतभन्दा बढी घटेर सन् २०२५ को डिसेम्बरसम्म ३ लाख १ हजार मा झरेको छ।
यता विद्यार्थी तथा अन्य अस्थायी भिसा धारकले एउटा भिसाबाट अर्कोमा पटक–पटक परिवर्तन गरेर अस्ट्रेलियामा बसाइ लम्ब्याउने ‘भिसा हपिङ’ रोक्न सरकारले यसअघि नै विभिन्न व्यवस्था लागू गरिसकेको छ। सन् २०२४ देखि पर्यटक भिसामा अस्ट्रेलिया पुगेकाले त्यहीँबाट विद्यार्थी भिसामा आवेदन दिने बाटोसमेत बन्द गरिएको छ।
सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या व्यवस्थापनसँगै शिक्षा प्रणालीको ‘इंटिग्रिटी’ कायम गर्ने नीतिलाई अघि बढाइरहेको छ। विद्यार्थी भिसाको दुरुपयोग रोक्न आवेदन प्रक्रियामा थप निगरानी तथा कडाइ गरिँदै आएको गृह मन्त्रालयले जनाएको छ।
यस्तै, सरकारले आवश्यक सीप भएका स्वास्थ्य, निर्माण, शिक्षा तथा अन्य क्षेत्रमा दक्ष कामदारलाई प्राथमिकता दिने नीति अघि सारेको छ। आप्रवासन प्रणालीलाई श्रम बजारको आवश्यकता र देशको दीर्घकालीन आवश्यकतासँग जोड्ने सरकारको योजना छ।
अध्यागमन प्रणालीमा हुने ठगी तथा दुरुपयोग रोक्न भिसा आवेदनमा गलत सूचना वा कागजात प्रयोग गर्ने गतिविधिमाथि समेत निगरानी बढाउने सरकारको नीति छ।

.gif)


