नेको इन्स्योरेन्सको नाफा बढयो
काठमाडौं - नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४४ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३० दशमलव ५१ प्रतिशतले बढी हो ।अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट २५ करोड २१ लाख, लगानी कर्जा तथा अन्यबाट १२ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५२ करोड ४४ लाख, बीमा कोषमा ८३ करोड १६ लाख र महाविपत्ती कोषमा ७ करोड ९३ लाख रुपैयाँ सञ्चित छ ।
यस्तै इन्स्योरेन्सको खुद बीमाशुल्क पनि १०.९१ प्रतिशतले बढेर एक अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले एक अर्ब १४ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ०५ पैसा, प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात १७ दशमलव ८३ गुणा रहेको छ ।
यस अवधिसम्ममा कम्पनीले २ लाख ४४ हजार ८७४ वटा बीमालेख जारी गरी २ अर्ब ७ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस्तै, कम्पनीले ५ हजार २३७ वटा दाबी बापत ७७ करोड ७० लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ५१८ वटा दाबी बापत ६० करोड ६७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
फेसबुक पेज Like गर्नुहोस