काठमाडौं - सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतोको निधन भएको हो ।

मंगलबार दिउँसो २ बजे मतदान केन्द्रमै अचानक बेहोस भएपछि महतोलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पताल पुर्‍याएको करिब आधा घण्टापछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

महतो जिल्ला रौतहटको माधव नारायण नगरपालिका–६ का स्थायी बासिन्दा हुन् । उनी जिल्ला सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबको रूपमा कार्यरत थिए ।