काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पाँचथर स्थित आफू जन्मेको घरमा पुगेर ६९ औं जन्मदिन मनाएका छन्।

स्थानीय तथा नेकपाकै केन्द्रिय नेताहरुको सहभागितामा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन धुमधामसँग मनाए। प्रधानमन्त्री ओली जाने भएपछि आठराई गाउँपालिकाले सार्वजनिक विदा नै दिएको थियो। आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्म घर नजिकै हेलिप्याड निर्माण गरिएको थियो।

प्रधानमन्त्रीको जन्मदिन मनाउन नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत उपस्थित थिए।

प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा आठराई क्षेत्रका ४०० ज्येष्ठ नागरिकलाई कपडा र दुई हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरे ।

प्रधानमन्त्रीले धुमधामसँग आफ्नो जन्मदिन मनाएपनि मानिसहरुले सामाजिक सञ्जालमा आलोचना गरेका छन्।प्रधानमन्त्री ओलीको जन्मोत्सवका केक बोक्नकै लागि हेलिकोप्टर चार्टर्ड गरिएको एउटा भिडियो भाइरल बनेको छ ।

केक बोक्न हेलिकोप्टरको प्रयोग भएको भनिएको भिडियो भाइरल बनेपछि प्रधानमन्त्रीको आलोचना भइरहेको छ। साथै प्रधानमन्त्रीले देशको नक्सा अंकित केक काटेपछि पनि धेरै मानिसले आलोचना गरेका छन्। केक काट्ने विदेशी सँस्कृति भएको भन्दै प्रधानमन्त्रीलाई केहीले नेपाली मौलिकतामा जन्मदिन मनाएको भए राम्रो हुने सुझाव समेत दिएका छन्।