दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप
वीरगञ्ज - मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिन थप भएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईँ सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका थिए ।
वीरगञ्जका सार्वजनिक तथा अतिक्रमित सडक क्षेत्रमा बनेका संरचना हटाउने सरकारी अभियानको विरोध गर्दै सरकारविरुद्ध जनतालाई उक्साउने गतिविधि गरेको उजुरीका आधारमा प्रसाईँलाई पक्राउ गरिएको थियो ।
गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाह र आईजीपी दान बहादुर कार्कीको बारेमा जथाभावी बोल्दै अशोभनीय टिप्पणी गरेको भिडियो टिकटकमा भाइरल बनेपछि उनलाई प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ ।
प्रसाईंलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रसाईंमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान भइरहेको जनाएको छ ।
पर्सा प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत प्रसारित उनका अभिव्यक्ति, भिडिओ तथा सामग्रीको डिजिटल परीक्षण समेत भइरहेको छ ।
सरकारविरुद्ध आक्रात्मक अभिव्यक्ति दिने र सामाजिक सद्भावमा असर पर्ने गतिविधि गर्दै आएका प्रसाईं यसअघि पनि पक्राउ पर्दै छुट्दै आएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस