काठमाडौं - नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि १७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्।

बिहान सवा ८ बजेबाट सुरू भएको महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रियामा अहिलेसम्म १७ सयभन्दा बढी प्रतिनिधिको नाम दर्ता भइसकेको विशेष महाधिवेशन आयोज समितिले जनाएको छ।

देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ।

नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रूपैयाँ साथमा लिएर आउन अनुरोध गरिएको छ।

गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए। कांग्रेस विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ।

सभापति शेरबहादुर देउवापक्षको बेवास्तापछि विधानको उक्त दफालाई टेकेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुईदिने विशेष महाधिवेशन आजबाट सुरू भएको हो।

विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेमा वैधानिकता के हुने भन्ने प्रश्न उब्जिएको छ । नेपाली कांग्रेसकै संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई ‘अवैधानिक’ भनिरहेको छ । अर्को पक्षले भने विधान पालनाकै लागि विशेष महाधिवेशन बोलाएको तर्क गरिरहेको छ ।

त्यसैले विशेष महाधिवेशनले जस्तोसूकै निर्णय गरे पनि यसले पार्टीभित्र विवाद समाधान हुनको साटो अझ बढ्ने सम्भावना देखिएको छ ।