सगरमाथाको नयाँ उचाई ८८४८. ८६ मिटर
काठमाडौं - नेपाल र चीनका परराष्ट्रमन्त्रीले संयुक्तरुपमा सार्वजनिक गरेको नयाँ उचाई अनुसार सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८. ८६ मिटर कायम भएकाे छ ।
आज भर्चुअल माध्यमबाट दुवै देशका परराष्ट्रमन्त्रीले उचाई सार्वजनिक गरेका थिए। दुबै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग सगरमाथाको उचाइ मापन पूरा गरेका थिए। करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो। यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो। सचिवालयले गत असारमै रिपोर्ट तयार गरेको थियो।
सगरमाथा मापन टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो। यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ। सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३ २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए। उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए। २०७५ चैत २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट सगमारथा मापनमा जाने टोलीलाई विदा गरेका थिए। ४ जनाको टोली मध्ये गौतम र कार्की चुचुरामै पुगेका थिए भने सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरसम्म पुगेका थिए।
सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीहरुले डाटा प्रोसेसिङ गरेका थिए। नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पुर्याकएको बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन सुरु गरेको थियो।
यस अघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिदै आएको छ। यो मापन सन् १९५७ मा जिएल गुलाटी कम्पनीले गरेको थियो।
फेसबुक पेज Like गर्नुहोस