काठमाडौं - प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अख्तियारको मुद्दाबारे बोल्न समय माग्दै आजको संसद अवरुद्ध पारेपछि बैठक स्थगित भएको हो।

नेपाली काँग्रेसका उपसभापति एवं संसदीय दलका नेता विजयकुमार गच्छदारलाइ वालुवाटार जग्गा प्रकरणमा जोडेर अख्तियारले मुद्दा चलाएपछि कांग्रेसले विरोध गर्दै आएको छ।

दिउँसो १ बजे बस्ने भनिएको बैठक झन्डै एक घन्टा ढिला शुरु भयो। सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु भएको जानकारी दिनसाथ काँग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो।

बैठकमा काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले बोल्ने समय माग गरेका थिए। यद्यपि यसअघि दुई पटक बोल्ने समय दिइसकेको र विषय छर्लंग भइसकेको उल्लेख गर्दै सभामुख सापकोटाले बडुलाई समय दिएनन्। 

समय नदिएपनि बडु बोल्न थालेपछि सभामुख सापकोटाले बैठक स्थगित गरे। प्रतिनिधि सभाको अर्को बैठक मंगलवार १ बजेसम्मका लागि स्थगित भएको छ।