काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान गरिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले अबको चार महिनामा करिब एक लाख ४८ हजारजनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान रहेको पनि बताए ।

स्वास्थ्यमन्त्री ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा ‘पीसीआर’ परीक्षण गर्ने नीति लिइएपनि संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजारको परीक्षण भइसकेको जानकारी दिए ।

सामर्थ्यअनुसार संक्रमण रोकथामका लागि सरकार युद्धस्तरमा लागिरहेको उनको भनाइ छ ।

मन्त्री ढकालले विश्वमा कोरोनाविरुद्धको खोप उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भइ प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली जनतालाई पनि ‘भ्याक्सिन’ दिलाउन सकियोस् भन्नेतर्फ सरकारले ध्यानकेन्द्रित गरी काम गरिरहेकोे बताए ।

उनले अहिलेपनि कुल सक्रिय संक्रमितमध्ये ८० प्रतिशत ‘होम आइसोलेसन’मा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पस्ट हुने बताए ।

‘जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको’

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घर–घरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको बताए ।

उनले चुनावमा भोट माग्न जनताको घर–दैलोमा पुगेजस्तै कोरोना रोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु घर–घरमा पुग्नुपर्ने बताएका हुन्।

अध्यक्ष तिमिल्सिनाले दलहरुले पनि आफ्ना भ्रातृसंस्थाहरुलाई परिचालन गरी गाउँ–गाउँमा स्वास्थ्यसम्बन्धी सचेतना फैलाउनुपर्ने बताए ।