हामी एकताबद्ध, परिवर्तित र सबल कांग्रेसको पक्षमा छौँ : प्रदीप पौडेल
काठमाडौं-नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बाध्यात्मक परिस्थितिबाट जन्मिएको विशेष महाधिवेशनले पार्टीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै नेता पौडेलले विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सुनिश्चित गर्ने दाबी गरेका छन् । उनका अनुसार यो महाधिवेशनले नेपाली कांग्रेसभित्रको आन्तरिक एकतालाई अझ मजबुत बनाउँदै पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनेछ।
पौडेलले लेखेका छन्, ‘बाध्यात्मक परिस्थितिले सृजना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सहित नेपाली काङ्ग्रेसलाई अझ एकताबद्ध बनाउनेछ। हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली काङ्ग्रेसको पक्षमा छौँ।’
कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरबीच वार्ता जारी छ। बालुवाटारमा दुई समूहबीच जारी संवादले पार्टीको आन्तरिक विवादलाई समाधान गर्ने प्रयास गरिरहेको छ।
विशेष महाधिवेशन अघि बढाइरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापन पक्षले वार्ता समिति गठन गरेका थिए।
वार्ता समितिमा विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, नेता गुरुराज घिमिरे र देवराज चालिसे रहेका छन्।
संस्थापन पक्ष र शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल समिति सदस्य छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस