काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले लगातार तीन दिनदेखि संसद् अवरुद्ध भएकोप्रति चिन्ता व्यक्त गर्दै सत्ता र प्रतिपक्षबीच राष्ट्रिय हितका विषयमा एकजुट हुनुपर्ने आवश्यकता औँल्याएकी छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले राष्ट्रियताको सवालमा राजनीतिक विभाजनभन्दा माथि उठेर सबै दलले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएकी हुन् ।

तामाङले संसद् केवल उपस्थित भएर भत्ता लिने थलो नभई जनताका समस्या र देशको विकाससँग सम्बन्धित विषयमा गम्भीर छलफल गर्ने मुख्य मञ्च भएको उल्लेख गरेकी छन् । बजेटमाथिको महत्त्वपूर्ण छलफल रोकिँदा देशको विकास प्रक्रिया नै प्रभावित हुने उनको भनाइ छ ।

उनले ‘देश विकासको मेरुदण्ड’ मानिने बजेटमाथि बहस नै हुन नसक्ने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको भन्दै राजनीतिक दलहरूबीच सहमति आवश्यक रहेको धारणा राखेकी छन् ।

त्यस्तै, उनले वर्तमान राजनीतिक असन्तुष्टिको समाधान संवाद र सहकार्यबाट खोजिनुपर्ने बताउँदै सबै पक्षले अडान मात्र होइन, लचकता पनि देखाउनुपर्ने आवश्यकता औँल्याएकी छन् ।

तामाङले सहिदहरूको योगदान स्मरण गर्दै वर्तमान नेतृत्वले त्यसको सम्मान गर्नुपर्ने उल्लेख गरेकी छन् । साथै उनले सभामुखप्रति सहानुभूति व्यक्त गर्दै संसद् सञ्चालनका लागि कठिन परिस्थितिबीच पनि प्रयास भइरहेको संकेत गरेकी छन् ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले संसद्मा उपस्थित भई प्रतिपक्षका प्रश्नहरूको जवाफ दिन र अवरोध अन्त्य गर्न पहल गर्न आग्रह गरेकी छन् ।

'तपाईं हाम्रो अभिभावक हो, हामी सबै तपाईंका सन्तान हौँ,' भन्दै उनले सदन सञ्चालनका लागि वातावरण बनाउन अनुरोध गरेकी छन् ।