काठमाडौं - चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन नेपाली जहाज शनिबार दिउँसो चीनतर्फ प्रस्थान गरेको छ।

शनिबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको वाइडबडी चीनतर्फ उडेको हो । कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानमा रहेका १ सय ८५ जना नेपाली विद्यार्थीहरुलाई उक्त विमानमार्फत शनिबार राति नै स्वदेश ल्याउने सरकारको तयारी छ।

विद्यार्थीहरुको उद्धारका लागि ४ जना स्वास्थ्यकर्मी, ३ जना पाइलट, ७ जना क्रु मेम्बर, १ जना इन्जिनियर, १ जना प्राविधिक र १ जना डिस्पास्चर गरी १७ जनाको टोली चीन प्रस्थान गरेको छ ।

सरकारले चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि भक्तपुरकाे खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ । उद्धार गरिएका नेपालीलाई पुरुष र महिला गरि चारवटा ब्लकमा छुट्टाछुट्टै राखिनेछ । 

त्रिभुवन विमानस्थल ल्याएपछि स्वास्थ्य परीक्षण गराई पाँच बसमा राखेर र एम्बुलेन्ससँगै सुरक्षाका सम्पूर्ण माध्यम अपनाएर खरिपाटीस्थित क्वारेन्टाइनमा लगेर तोकिएको कोठामा प्रवेश गराइनेछ । क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सिसिक्यामरा, आठ टेलिभिजन, सबै ब्लकमा स्पीकर जडान गर्नुका साथै तीनवटा वासिङ्ग मेशिन, ओछ्यान, टावेल, चप्पल, साबुन, मन्जन, ब्रश, माक्स र औषधिलगायत दैनिकरुपमा आवश्यक सबै सामग्री प्रत्येक श्ययामा पु-याइएको छ ।

एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीन श्यया रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ । मनोरञ्जनका लागि दुई ब्याडमिन्टन कोड निर्माण गरिएको छ भने क्यारेमबोर्ड, लूडो र बच्चाका लागि बललगायतका खेल सामग्री व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभइ कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ । क्वारेन्टाइनमा रहँदा अभिभावकसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन।